पछिल्लो समय नायकले बडीगार्ड राख्ने प्रचलन बढ्दो छ । नायक अनमोल केसीबाट सुरु भएको बडीगार्ड राख्ने प्रचलन प्रदीप खड्काले पनि फलो गरे । यसैबीच बडीगार्ड सहित प्रस्तुत हुने नायकमा थपिएका छन् कुशल थापा ।
झण्डै एक दशक देखि चलचित्र क्षेत्रमा क्रियाशिल कुशल शुक्रबार पोखरामा भएको स्ट्रिट कन्सर्टमा ६ जना बडीगार्ड सहित प्रस्तुत भए । सुन्दर नगरी पोखराको सभागृह चोकमा भएको कन्सर्टमा एक हजार बढी दर्शकको सहभागीता रहेको थियो । नजिकिदो क्रिसमस डे र नयाँ वर्षलाई लक्षित गर्दै चलचित्रको प्रसार प्रसारलाई व्यापक बनाउने उद्देश्यले पोखरामा निर्माण यूनिटले कार्यक्रमको आयोजना गरेको हो । साँझ आयोजना गरिएको कार्यक्रममा गायक बिनोद ढकालले थुप्रै दर्शकलाई गीत गाएर मनोरञ्जन दिलाए । मोडल समेत रहेकी सोनिकाले विभिन्न आइटम गीतमा नाचेर दर्शकलाई आफूतिर आकर्षित गरिन् । फिल्मका कोरियोग्राफर समेत रहेका रोहन नेपालीले नृत्य प्रस्तुत गरे । दर्शक बढ्दै थिए । कतिपय सवारी चालकले मोटरसाइकल र गाडी नै रोकेर सभागृह चोकको कार्यक्रममा उपस्थिती जनाए । उच्च सुरक्षाको बीच स्टेजमा झुल्किए नायक कुशल थापा । उनको साथमा थिए बडीगार्ड ।
समारोहलाई सम्बोधन गर्दै उनले त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘ह्याप्पी न्यू इयर’ मा आफूले लभर ब्वाईको भूमिका निर्वाह गरेको जानकारी गराए । दर्शक समक्ष प्रत्यक्ष साक्षात्कार गरेका उनले कुनै फण्डाको लागि बडीगार्ड नराखिएको स्पष्ट पारे । यस अघि निर्माण यूनिटले हेटौडा, नायरायणघट र बुटवलमा कन्सर्टको आयोजना गरेको थियो । स्ट्रिट कन्सर्ट प्रभावकारी भइदिदा चलचित्रको हाइप चुलिएको छ । यद्धपि एक हप्ता पहिले रिलिजमा आएको बलिउड फिल्म ‘टाइगर जिन्दा हे’ का कारण कतै चेपुवामा पर्ने पो कि भन्नेमा निर्माण यूनिट सशंकित छ ।
यसैबीच पोखरामा भएको स्ट्रिट कन्सर्टमा डेभिड खड्काले ग्लास ब्रेकर डान्स गरे । झण्डै सय वटा ट्युवलाईट आफ्नो शरीरमा फुटाए । चुनौतीपूर्ण यो डान्स गरिरहदा उनको शरीर ट्युवलाइटले काटेर रक्ताम्य भयो । जे होस् कार्यक्रमले उपस्थित दर्शकको ध्यान खिच्यो । क्रिसमस डेको दिन निर्माण टोलीले राजधानीमा कन्सर्टको आयोजना गर्दैछ ।
सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको यो चलचित्र यहि पौष १४ गते रिलिज हुँदैछ । देवकुमार श्रेष्ठ निर्देशित चलचित्रमा कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको मुख्य भूमिका छ ।
0 comments:
Post a Comment